Our News and Events

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल बिच अन्तरक्रिया कार्यक्रम ‘आन्तरिक सज्जा कलाको महत्व र आवश्वकता’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपालको आयोजनामा ‘आन्तरिक सज्जा कलाको महत्व र आवश्वकता’ विषयमा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली हुनुहुन्थ्यो । त्यस्तै, कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र कुमार काफ्ले ‘थुम्केली’, वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, चित्रकला विभाग प्रमुख सञ्जय वान्तवा, हस्तकला विभाग प्रमुख अरुणा हिङमाङ, लोककला विभाग प्रमुख प्रदीप अधिकारी, मूर्तिकला विभाग प्रमुख दिनेश्वर महतो, प्राज्ञ सभा सदस्य नरेन्द्रप्रसाद भण्डारी तथा आइडिया नेपालका पदाधिकारीहको सहभागिता रहेको थियो । कुलपति नारदमणि हार्तम्छालीले कार्यक्रमको उद्घाटन गरेपश्चात् बोल्दै आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठले भन्नुभयो, ‘अपनत्वको लागि केटाकेटी मावली जानेभन्दा उमंगीत हुन्छन् । हामीलाई पनि त्यस्तै भएको छ । भाञ्जाभाञ्जी मावली आएका छन् । खुसी भएका छन् ।’ वास्तुकला तथा अन्य सिर्जनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारीले इन्टेरियर डिजाइनर्स र आर्टिस्ट एउटै खाले भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘तपाईहरुले आफूलाई इन्ेटेरियर डिजाइनर्स भन्नुहुन्छ । हामीले आर्टिस्ट भन्छौं । तर वास्तवमा हामी सबै आर्टिस्ट हौं । हामी सेम सेम छौं । तपाईहरु आउनुभयो, एकदमै खुसी लागेको छ ।’
आइडिया नेपालका महासचिव रामगोपाल तण्डुकारले कार्यक्रममा पावरप्वाइन्ट प्रिजेन्टेसनमार्फत आइडिया नेपाल स्थापना, यसको पृष्ठभूमि, उद्देश्य तथा कामका बारेमा बताउनुभयो । उहाँले आइडिया नेपालले छाता संगठनको रुपमा देशभर छरिएर रहेका इन्टेरियर डिजाइनरहरुलाई एकत्रित गर्ने, उनीहरुको हकहितका बारेमा बोल्ने तथा समाज र देशसँग मिलेर राष्ट्रनिर्माण कसरी सहयोग गर्न सकिन्छ भनेर काम गरिरहेको जानकारी गराउनुभयो ।
आइडिया नेपालकी सचिव अमृता श्रेष्ठले आन्तरिक सज्जा कला पौराणिक कालदेखि आएको कला बताउँदै उहाँले यसलाई वास्तुकलाको एकाइको रुपमा मान्न सकिने धारणा राख्नुभयो । उहाँले यसमा विज्ञान र कलालाई फ्युजन गरेर अघि बढ्न जरुरी भएको बताउनुभयो । घरको महत्व बढाउन, समय र पैसा सुरक्षित गर्न, आफ्नो व्यक्तित्व अनुसार घरको साजसज्जा गर्न लगायतका विविध पक्षहरुबारे ध्यान दिन इन्टेरियर डिजाइनको महत्व रहेको बताउनुभयो ।
आइडिया नेपालकी सदस्य स्मृति रेग्मीले आफूहरुले क्लाइन्टसँग मिलेर काम गरिरहेता पनि आगामी दिनमा ललितकलासँग मिलेर कसरी काम गर्न सकिन्छ भनेर पनि सोच्नुपर्ने बताउनुभयो । उहाँले इन्टेरियर डिजाइनर पनि एउटा कलाकार भएको बताउँदै आफूहरुले भ्रमण, नाप, छलफल लगायतका विभिन्न चरणहरु पार गरेर इन्टेरियर डिजाइनिङको काम गर्ने धारणा राख्नुभयो ।
इन्टेरियर डिजाइनर सपना सापकोटाले अहिले आन्तरिक कला र प्राविधिक कलाको संयोजनबाटै अघि बढ्नुपर्ने अवस्था रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘कला भन्नु नै सौन्दर्य हो । सौन्दर्यताले नै सुन्दरता थप्छ । सुन्दरता सबैलाई मनपर्छ । प्रविधिले यसलाई चम्काउन मद्दत गर्छ ।’ इन्टेरियर डिजाइनिङको क्षेत्रमा प्रविधिको उपयोग धेरै भएको बताउँदै उहाँले सबै कुरा कन्टेम्पोररीभन्दा पनि हामीले ट्रेडिसनल कलाको कुरा पनि समेट्न जरुरी रहेको धारणा राख्नुभयो ।
विषयगत जानकारी गराउने क्रममा आइडिया नेपालका अध्यक्ष श्याम श्रेष्ठले इन्टेरियर डिजाइनिङको विधाको महत्व र आवश्यकता अहिले बढ्दै गएको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सरकारको त्यत्रो घर बनिरहेको हुन्छ । के इन्टेरियर डिजाइनरहरुको काम त्यहाँ पर्दैन त ? सिभिल इन्जिनियर, आर्किटेक्ट मात्र होइन बीचमा इन्टेरियर डिजाइनर पनि हुन्छ भन्ने ध्यान दिनु आवश्यक छ । हामीले कम खर्च, कम लागत, सीमित स्पेसमा पनि राम्रो गर्न सक्छौं भनेर भन्नुपर्ने भएको छ ।’ इन्टेरियर डिजाइनरको आवश्यकता र महत्व दर्शाउन पनि यस कार्यक्रम महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।
प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले इन्टेरियर डिजाइनरहरु ललितकला प्रतिष्ठानमा आएकोमा आभार व्यक्त गर्दै उहाँहरुको विषयलाई कसरी अघि लाने, यसको विकास र प्रबद्र्धन कसरी गर्ने भन्ने नै यस कार्यक्रमको उद्देश्य भएको बताउनुभयो । उहाँले इन्टेरियर डिजाइनरहरुले पालिका, प्रदेशसँग संघ सरकारसँग समन्वय गरेर नीतिगत तहमै छलफल गरेर अघि बढ्दा त्यसले दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘ यसको महत्वलाई तलैसम्म लान सकिन्छ । रैथाने ज्ञानलाई पनि अहिलेको ज्ञानसँग मिलाएर लान सकेमा हामीलाई पनि राम्रो हुन्छ र पर्यटकलाई पनि आकर्षित गर्न सकिन्छ । हामीहरु नयाँ नयाँलाई मिलेर काम गर्ने उत्प्रेरणा दिएको छ । हामी नियमित ढंगमा जोडिने छौं ।’
कार्यक्रममा भिडियो सन्देशबाट जोडिनुभएकी इन्टेरियर डिजाइनर कीर्ति श्रेष्ठ उपाध्यायले ललितकलामा धेरै विधा पर्ने र त्यसमध्ये आन्तरिक सजावट पनि एउटा कला भएको बताउनुभयो । उहाँले यसमा इतिहास, संस्कृति, वातावरण विज्ञान लगायतका सबै विषय जोडिएको बताउनुभयो । ‘एकातिर विज्ञान पर्छ । एकातिर कला पर्छ । यो एउटा अनुशासनको विषय पनि हो । अहिले इन्टेरियर डिजाइनलाई पाठ्यक्रममा पनि समेट्न थालिएको छ’, उपाध्यायले भन्नुभयो । कलाले सबै वर्गलाई समेट्ने भन्दै उहाँले कला र कलाकारविनाको संसार कल्पना पनि गर्न नसकिने धारणा राख्नुभयो ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले आफूहरु आगामी दिनमा इन्टेरियर डिजाइनरसँग गुणात्मक रुपमा नै सहभागी हुने बताउनुभयो । उहाँले इन्टेरियर डिजाइनरलाई समेटेर अघि बढ्न आफूले प्राज्ञसभामा समेत छलफल गर्ने कुरा पनि जोड दिनुभयो । इन्टेरियर डिजाइनरहरुका कलालाई प्रतिस्पर्धा गराइ त्यसबाट छानिएका उत्कृष्ट कलालाई प्रतिष्ठानले पार्क, होटल, घरमा, सरकारी कार्यालयमा राख्नुपर्छ भनेर सिफारिस गर्नसक्ने बताउनुभयो । ‘हामी आभारी छौं । आगामी दिनमा पनि तपाईहरुसँग बस्नेछौं’, उहाँले थप्नुभयो ।
कार्यक्रमको समापनमा बोल्दै आइडिया नेपालकी उपाध्यक्ष उषा रायमाझीले इन्टेरियर डिजाइनरको पेशागत पहिचान र हकहितको लागि पैरवी गर्ने आफ्नो संस्थाले आजको कार्यक्रममा सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले आगामी दिनमा प्रतिष्ठानले आफूहरुलाई पनि प्रोत्साहन र संरक्षण गरेर अघि बढाउन सहयोग गर्ने आशासमेत व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन भने जंग पहाडीबाट भएको थियो ।
CC: Nepal Academy of Fine arts
© 2024, Idea Nepal, All Right Reserved
Designed and Developed with by Theme Nepal